“नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास” यो भनाइ जुवा तास खेल्नेहरूको जिवनमा सार्थक बनेको धेरै उदाहरणहरू छन । तर जुवाडेहरूले यो भनाइलाइ मनन गरेको अहिले सम्म लक्षण देखिएको छैन । महाभारतकालमा पाँच पाँण्डबहरूले जुवामा सबै सम्पती हारे पछि श्रीमतीलाइ समेत हारेका थिए । जुवाको लतलागेका जुवाडेहरू खालमा बसिसकेपछि उनिहरूले सबैकुरा बिर्सियर मात्र जुवा सम्झन्छन भन्ने एउटा उदाहरण हो यो ।
अहिले कोरोनाको महामारी चलिरहेको छ, मान्नेहरूले यसलाइ महामारी मानिरहेका छन् भने नमान्नेहरूले यसलाइ अवसरको रूपमा समेत लिएका छन् । त्यस्तै जुवा तासका पारखीहरूका लागि यो समय सुनौलो समय बनेको छ ।
जुवा खेल्ने र खेलाउने प्रचलन पुरानै भएता पनि अहिले आधुनिक समयमा आएर राज्यले निति नियमहरू बनाइ बिभिन्न किसिमका नियमनकारी निकायहरू मार्फत जुवा तासलाइ नियन्त्रण गर्दै आएको छ तर पनि राज्यको आँखा छल्दै पर्दा पछाडी वा राज्यका त्यस्ता निकायहरूलाइ प्रभावमा पारेर जुवा तास खेल्ने खेलाउने गिरोह समाजमा सक्रिय छन् । ति सक्रिय समुहहरू देशका बिभिन्न स्थानमा गल्लि गल्लिमा सक्रिय छन्, यसमा कसैको दुइमत छैन, यसको गतिलो उदाहरण बेलाबेलामा प्रहरीले उच्च ओहदाका व्यक्तीहरू सहित जुवा तासको खालमै छापा मारेको समाचारहरू सुन्न पाइन्छ ।
अहिलेको अबस्थामा प्रहरीले त्यता तिर ध्यान नदिएको र कोरोनाको महामारीले उत्पन्न परिस्थितीको सामना गर्न लकडाउन, निषेधाज्ञा लगायतका कार्यमा व्यस्त भएको अवसरमा झनै त्यस्ता जुवा तासका पारखी र अबैध धन्दा चलाउनेहरूलाइ सुनौलो अवसर मिलेको हो । चन्द्रागिरी निकै नाम चलेको नगरपालीका हो । अहिले चन्द्रागिरी हिल्सका कारण पनि यो नाम नसुन्ने कमै होलान ।
यो नगरपालिकाका गल्लि गल्लि अहिले तास जुवाको अखडा बन्दै गएको जनगुनासो सुनिन थालेको छ । हुन त पहिले पनि यो नगरपालिका क्षेत्रका मातातिर्थ, दाउराडिपो, थानकोट, नैकाप, तिनथाना,दहचोक, नाग ढुङ्गा लगायतका स्थानहरू जुवा तासको लागि प्रख्यात मानिन्छन । बेला बेलामा यि स्थानहरूमा प्रहरी कारवाही पनि भएको बुझिएको छ तर अहिले कोरोना संक्रमणको अबस्थामा पनि यि स्थानहरूमा जुवा तास मौलाएको पाइन्छ ।
बिशेष गरि दाउराडिपो वरपरका इलाकाहरूमा जुवातासको बिगबिगी बढीरहेको एक स्थानियले नाम उल्लेख नगर्ने सर्तमा यो पंतिकारलाइ बताए । निर्वाध रूपमा जुवा तास चलिरहेको र टोलको भित्री गल्लीहरूमा प्रहरी गस्ति नहुने साथै प्रहरीलाइ पनि प्रभावमा लिएर त्यस्ता कार्यहरू भैरहेकाले त्यसबाट उत्पन्न हुन सक्ने अपराधिक कृयाकलापसंग सचेत हुनु पर्ने देखिन्छ ।
जुवा हारेको पिडा वा जितेको मातमा रातीको अवस्थामा समेत ति जुवाडेहरू आवत जावत हुने भएकाले गल्ली टोल छिमेकमा लुटपाट, बलात्कार, झैझगडा साथै जुवाडेहरूका घरमा हुने घरेलु हिंसामा समेत बढोत्तरी हुने निस्चित छ । त्यसकारण समाजका अग्रणी, समाज सुघारक, कानुन कार्यान्वयन गर्ने निकाय, प्रहरी लगायत सबै सम्बन्धित निकायहरूको यता तर्फ ध्यान जानु जरूरी छ ।
२०७७ भाद्र १४, आईतवार प्रकाशित