‘नेपाल आइडल सिजन ३’ की विजेता मोरङकी सज्जा चौलागाईं

|

काठमाडौँ /  मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् । आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए । ग्रान्ड फिनालेको प्रस्तुति प्रशारणपछि यसबारे सूचना दिइएको थियो, ‘कोभिड १९ को असरबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

ग्रान्ड फिनालेमा सज्जाले एल्बरट्रसको ‘निश्चल’बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिपछि निर्णायक इन्दिरा जोशी र न्ह्युँ बज्रचार्यले आफ्नो स्थानमा उठेर उनको गायकिको प्रशंसा गरे ।- Ekantipur Online

२०७७ भाद्र १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।