सभामुख सापकोटाद्वारा बाढी-पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण

|

सिन्धुपाल्चोक / सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्षण हुने जनाउँदै आफूले दुख र सङ्कटका बेलामा पनि कहिल्यै साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विस्थापितका लागि जग्गा दिलाउन आफूले प्रधानमन्त्रीसंँग भेटेर छलफल गर्ने आश्वासन पनि उनले दिए । सभामुख सापकोटासँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्ट पनि बाँसखर्क पुगेका थिए ।

सभामुखले स्थानीय तहका जनप्रतिनिधिमार्फत थप राहत सामग्री हस्तान्तरणसमेत गरे । त्यसअघि सभामुख सापकोटाले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री प्रदान गरेका थिए ।जुगल गाउँपालिकाको लिदी, बाह्रबीसे नगरपालिकाका जम्बु र खागदल तथा भोटेकोशी गाउँपालिकाको लार्चाका बाढीपहिरोबाट विस्थापित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिमार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

२०७७ भाद्र १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।