
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः चार वर्षका लागि नियुक्ति भएको हल्लाले आज व्यापकता पायो । वास्तविकता भने नियुक्ति भएकै थिएन ।
मन्त्रिपरिषद बैठक बस्दैछ भन्ने सर्वसाधारणले थाहा पाएपछि कार्यकारी निर्देशक घिसिङलाई नियुक्ति गरोस् भन्ने अभिप्रायले नियुक्ति भएको भन्दै बधाई दिएको स्पष्ट भएको छ । जनचाहना कुलमान घिसिङ पुनः नियुक्ति होस भन्ने देखिएको छ ।
मन्त्रिपरिषद बैठक बस्दै गर्दा नियुक्तिको सामाजिक सञ्जालमा व्यापक हल्ला भएको बारेमा भने मन्त्रीहरुबीचमा सामान्य छलफल भएको थियो । कसरी बाहिर हल्ला भयो ? भन्नेबारेमा भने मन्त्रीहरुले नै चासो राखेका थिए । तर, एजेण्डामा नरहेकाले त्यसबारे कुनै छलफल नै नभएको एक मन्त्रीेले बताए ।
उर्जामन्त्री वर्षमान पुनले पनि कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव नलगेको स्पष्ट पारेका छन् । भदौको अन्तिममा कार्यकाल सकिँदै गरेका कुलमानलाई पुनः नियुक्तिका लागि व्यापक जनदवाव छ । १८ घण्टाको लोडसेडिङ अन्त्य गरेका कुलमान नेतृत्वको विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नेतृत्वमा हेर्न चाहेकाले पनि जनदवाव अनुरुप नियुक्तिको बधाई आएको स्पष्ट छ ।- Nagarikkhabar