
बाँके । बाँकको डुडुवा गाउँपालिकामा अनियमितता र भ्रष्टचार विरुद्ध खबरदारी गर्न नवगठित डुडुवा संघर्ष समितिले आज गाउँपालिकासँंग ४ बुँदे सुचना माग गरेको छ ।डुडुवा गाउँपालिकाका सूचना अधिकारी संजय कुमार कर्णलाई डुडुवा संघर्ष समितिका संयोजक मोहनराम मिश्रले डुडुवा गाउँपालिकाको कार्यालयमा सूचना माग निवेदन बुझाएका छन् ।
सुचना अधिकारीले केही ढिलाई गरे पछि संघर्ष समितिका सदस्यले आज नै सूचना दर्ता गर्नु पर्ने दबाव दिए पश्चात आज नै सुचना दर्ता भएको छ । नेपालको संबिधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धीको ऐन २०६४ को दफा ३ अनुसार चार बुँदे निवेदनमार्फत गाउँपालिकासंग सूचना माग गरिएको संघर्ष समितिका प्रेस संयोजक सूर्यलाल यादवले जानकारी दिनुभयो ।
राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय बाँकेलाई बोधार्थ गर्दै संघर्ष समितिले पेश गरिएको निवेदनमार्फत गाउँपालिकामा रहेका निजामती कर्मचारी संख्या, करार, ज्यालादारी वा अन्यको नाम, पद तथा तलब स्केलको विवरण, आर्थिक वर्ष २०७६/२०७७ मा खर्च बिकास बजेट र कुन कार्यका कति रकम, कहाँ खर्च भएको, उक्त कार्यका जिम्मेवार व्यक्तिको नाम (उपभोक्ता समिति) समेतको विवरण, आर्थिक वर्ष २०७४/२०७५, आर्थिक वर्ष २०७५/२०७६ र आर्थिक वर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिवेदन र गाउँपालिमा भएका सवारी साधान, प्रयोग गर्ने व्यक्ति, उक्त सवारी साधनमा गत वर्ष खर्च भएको इन्धन विवरण तथा मर्मतमा खर्च रकमको विवरण साथै साधनबाट भएको आम्दानीको समेत सुचना माग गरिएको छ ।