
नेपालगञ्ज । पुर्वमन्त्री एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले आफु मन्त्री हुँदा ल्याएको योजना अन्तर्गतको हाइमास्ट लाइट जडानको शनिवार नेपालगन्जमा शिलन्यास गर्नु भएको छ । उहाँले नेपालगन्ज १५ जमुनाह पिप्रहवा चोकमा जडान गरिने हाइमास्ट लाइटको जग निर्माण कार्यको शिलन्यास गर्दै केही महिनामा नेपालगन्ज झिलिमिली हुने बताउनुभयो ।
कोभिड १९ ले गर्दा लाइट जडानमा ढिलाई भएपनि आफुले ल्याएको योजना अनुसार नेपालगञ्ज र कोहलपुरमा लाइट जडानको काम शुरु गरिएकोले छिटै दुबै सहर झिलिमिली हुने उहाँले बताउनुभयो ।

पुर्वमन्त्री राईले बाँकेको नेपालगन्ज र कोहलपुरलाई देशकै नमुना सहर बनाउने उदेश्यका साथ आफु सहरी विकास मन्त्री हुँदा सहर उज्यालो योजना तयार पारेको बताउनुभयो ।
सो अवसरमा प्रदेश सभासद विजय बहादुर यादव, तत्कालिन समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन रानामगर, नेताहरु अम्बिका काफ्ले, रशिद कुरैशी, रमारानी वैश्य लगायतको उपस्थिति रहेको थियो ।
उता, नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकालाई लक्षित गरेर शुरु गरिएको सहर उज्यालो अभियान अन्तर्गत ५२ वटा हाइमास्ट लाइट जडान कार्यलाई हाल आएर तिव्र पारिएको छ । बाँके क्षेत्र नम्बर २ का सांसद राई सहरी विकास मन्त्री हुँदा उहाँको पहलमा नेपालगञ्ज र कोहलपुरमा ५२ वटा हाइमास्ट लाइट जडान गर्ने भनि २०७६ साल पुस २८ गते निर्माणको सम्झौता गरिएको थियो ।
२०७७ साल असार २५ गतेभित्र सबै लाइट जडान गरिसक्ने गरी नेपाल इन्टर प्रेमेयर समा कन्सट्रक्सन जेबीसंग सम्झौता गरिएपनि कोभिड १९ महामारीका कारण समयमा काम हुन नसक्दा आगामी पुस मसान्तसम्म जडान गरिसक्ने गरि ६ महिना समय थप गरिएको थियो ।
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई बाँकेका निमित्त प्रमुख विजय केशर खनालले कोभिड १९ का कारण हाइमास्ट लाइट जडान कार्य रोकिएकोमा अहिले तिव्रगतिमा कामहरु शुरु गरिएको बताउनुभयो ।

उहाँले नेपालगञ्जमा ३ वटा प्याकेज गरेर ३९ र कोहलपुरमा एक प्याकेजका साथ १३ वटा गरि ५२ वटा हाइमास्ट लाइट जडानको कार्य शुरु भएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरका मुख्य मुख्य चोक र केन्द्र भएका स्थानमा जडान भैरहेको ३९ वटा हाइमास्ट लाइट र कोहलपुरका पनि मुख्य मुख्य चोकमा जडान भैरहेको १३ वटा गरेर ५२ हाइमास्ट लाइटको कुल लागत ४ करोेड २० लाख रुपियाँ रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई बाँकेले जनाएको छ ।- Nepalgunjfm.com