
बाँके । डुडुवा गाउँपालिकामा हुने अनियमितता, भ्रष्टाचार र गलत क्रियाकलाप बिरुद्ध मोहनराम मिश्राको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । बिहीबार नेकपा तथा समाजवादी पार्टीका अगुवा कार्यकर्ताहरुको उपस्थितिमा बसेको भेलाले गाउँपालिकामा भइरहेको गलत क्रियाकलाप, अनियमितता र पार्टीवाद बिरुद्ध १५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
गाउँपालिकामा हाबी भएको एकलौटी शासन व्यवस्थाप्रति आम नागरिकको ध्यानाकर्षण भएको जनाउँदै भेलाले गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीबिरुद्ध एक संघर्षशील समिति बनाउने छलपल अनुसार मिश्राको नेतृत्वमा भोला प्रसाद यादव, भण्डारीलाल यादव, शकील अहमद खाँ, दुर्गा प्रसाद बर्मा, राजेन्द्र बिश्वकर्मा, कयुम खाँ, युनुस खाँ, कप्तान पाठक, मोहम्मद सगीर खाँ, मर्दन अलि शेष, बीर शेष, सगीर खाँ, सूर्यलाल यादव र ओमकार बानिया सदस्य रहेको समिति गठन गरिएको हो ।
समितिको सञ्चार संयोजकमा सूर्यलाल यादवलाई जिम्मेवारी दिईएको छ । त्यस्तै समितिको सल्लाहकारमा निरक गुरुङ, बिजय बहादुर यादव र सत्य नारायण बर्मा रहनुभएको छ ।
भेलाबाट चयन भएको समितिले डुडुवा गाउँपालिकाको समग्र बिकासका लागि अघि बढ्दै समाज तथा स्थानीय तहबाट भइरहेका गलत क्रियाकलापका बिरुद्ध आवाज उठाउने निर्णय समेत गरेको छ ।- samayapatra