विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

|

काठमाण्डौं / सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ ।

त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।

त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो । तर, त्यसरी कामदार आएर बसने होटल क्वारिन्टिन तय भएपछि तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।

उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो ।

कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीको पत्रमा अनुरोध गरिएको छ । उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् ।

नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

८० हजार नेपाली अलपत्र

अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा रहेको दूतावासहरुको तथ्यांकले देखाउाछ । राजदूतहरुका अनुसार सरकारले उडान कटौती गरेपछि नै उनीहरुमा छटपटाहट देखिएको छ । झन सरकारले उद्धार उडान नै रोकिदिएपछि विदेशमा अलपत्र नेपालीहरु थप समस्यामा पर्ने भएका छन् ।

सरकारले सोमबारबाट कोटा तोकेर नियमित उडान गर्ने मिति तोकेको थियो । विदेशबाट नेपालीको उद्धारको प्रसंग उठेदेखि नै श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडान नगर्न सरकारलाई लिखित रुपमै आग्रह गरेका थिए ।

चार्टर्ड उडानले कामदारमाथि आर्थिक बोझ थप्ने र प्रक्रिया पनि झन्झटिलो हुने भएकाले सतर्कतासहित मापदण्ड बनाएर नियमित फ्लाइट नै खोल्नुपर्ने उनीहरुको माग थियो ।

तर, देशभित्र कोरोना जोखिम बढेको भन्दै नियमित उडान १५ दिन पर धकेलेको सरकारले विदेशबाट स्वदेश फर्काउनेको संख्यामा दैनिक ५०० कोटा तोकेपछि दूतावासमा नेपालीहरुको चाप बढ्दै गएको थियो । अहिले ‘उद्धार’को प्रतिक्षामा रहेका नेपालीहरु बिलखबन्दमा परेका छन् ।

यूएईबाटै ३२–३३ हजार नेपाली देश र्फकन पाउने आशामा छन् । त्यस्तै, कतारमा करिब १० हजार नेपाली प्रतिक्षा सूचीमा छन् । मलेसिया र साउदीमा ५–७ हजारभन्दा बढी नेपाली दूतावासले स्वदेश फर्काउन निकाल्ने सूचीमा आफ्नो काम कहिले पर्छ भनेर कुरिररहेका छन् । कुवेत, बहराइन, ओमान, लेबनान लगायतका देशमा पनि करिब १० हजार नेपालीहरु उद्धार पर्खिरहेका छन् ।

२०७७ भाद्र १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।