काठमाण्डौमा भदौ १५ सम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध

|
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिएका छन्। उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।
यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ । यस्तै परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइएको छ ।
दाहालले संक्रमणको जोखिम कम गराउँने सन्दर्भमा आदेश जारी गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा निषेधित गतिविधि गर्न नपाइने साथै उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सावधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।
शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रोक लगाइएको छ र सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तोकिएको अवधिभर संचालनमा गर्न पाइने छैन ।
यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ , ठेलागाडा र साइकल मार्फत संचालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।
निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रसासन कार्यालयद्धारा जारी आदेशमा जनाईएको छ ।

२०७७ श्रावण ३१, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।