
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका हुन् साथै गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गरे ।
जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुगेका उनले बाढी, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिएका थिए भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी सहायक स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा समेत सहभागी भएका थिए । मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आइतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए ।
२०७७ श्रावण २६, सोमबार प्रकाशित