प्लान इन्टरनेशनल नेपालको सहयोगमा कालिकोटका पहिरो प्रभावितका लागि राहत प्रदान

|

कालिकोट / अविरल बर्षापछि साउनको दोस्रो साता आएको पहिरोबाट प्रभावित कालिकोट जिल्लाको तीन वटा गाउँपालिकाका स्थानीयवासीका लागि राहत वितरण शुरु गरिएको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालले प्रदेश सरकार, जिल्ला विपत व्यवस्थापन समिति कालिकोट तथा स्थानीय सरकारसँगको समन्वय तथा साझेदार संस्थाहरु किर्डाक नेपाल, सादा नेपाल तथा हुरेन्डेक नेपालको सहकार्यमा नरहरिनाथ तथा सानी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा गरी जम्मा ५ सय परिवारहरुका लागि राहत वितरण शुरु गरिएको हो ।

राहत वितरणको पहिलो दिन नरहरिनाथ गाउँपालिकाका १ सय ४२ परिवारका लागि गैरखाद्य र स्वच्छता सामग्रीहरु प्रदान गरिएको छ । यस गाउँपालिकामा अति प्रभावित २ सय परिवारका लागि राहत वितरण गरिनेछ । यसैगरी, भोलिदेखि सान्नी त्रिवेणी गाउँपालिका तथा रासकोट नगरपालिकाका १५०÷१५० परिवारका लागि पनि राहत वितरण गरिनेछ ।

विगतमा जस्तै प्लान इन्टरनेशनल नेपालले प्रदेश सरकार, जिल्ला विपत व्यवस्थापन समिति तथा स्थानीय सरकारसँग मिलेर राहत वितरण गरेको हो । राहत प्राप्त गर्ने लाभग्राहीको छनोट स्थानीय सरकारको समन्वयमा भएको प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रवन्धक मीना पराजुलीले जानकारी दिनुभयो । राहत वितरण गर्दा कोरोना संक्रमणबाट जोगिने उपाय र मापदण्ड लागू गरिएको थियो ।

स्थानीय सरकार र सरोकारवाला निकायले पहिरो प्रभावितका लागि सहयोग गर्न तदारुकता देखाएर सबैभन्दा पहिलो राहत वितरण गरेकोमा प्लान इन्टरनेशनल नेपालप्रति आभार प्रकट गरेका छन् । राहत प्राप्त गरेपछि नरहरिनाथ गाउँपालिका वडा नम्वर ४ की २६ वर्षीया तृष्णा विकले भनिन्, “पहिरोका कारण विस्थापित भएका बेला हामी विपन्न परिवारका लागि राहतको व्यवस्था गरेकोमा खुशी लागेको छ, यसले हामीलाई थप जोखिमबाट जोगाउन मद्धत गर्नेछ ।”

अविरल बर्षापछि आएको पहिरोमा परि पछिल्लो पटक कालिकोटमा २० जनाको मृत्यु भएको थियो भने १ हजार १ सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

२०७७ श्रावण २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।