अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा टिकटक बन्द गर्ने आदेशमा हस्ताक्षर

|

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाएका छन् । यी दुई एप्समाथि ४५ दिनपछि लागू हुनेगरी ट्रम्पले प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि प्रतिबन्ध लागू हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनसँगको व्यापार युद्ध, साउथ चाइना सी, हङकङलगायतका विषयमा बढ्दो विवादसँगै अमेरिका र चीनबीचको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा पुग्न थालेको छ ।ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको दावी गर्दै प्रतिबन्ध घोषणा गरे । ‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा उल्लेख गरिएको छ ।

टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। संसारभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्। चीनसँगको सीमा विवादबीच भारतले पनि टिकटकसहित ५९ चिनियाँ एप्स प्रतिबन्ध गरेको थियो ।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको समयमा प्रतिबन्धको आदेश आएको छ ।-NagarikKhabar

२०७७ श्रावण २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।