
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले शनिवार बेलुकासम्म टिकटकमाथि प्रतिबन्धको घोषणा गर्ने बताए ।
उनले कार्यकारी आदेशमार्फत टिकटकमाथि प्रतिबन्ध लगाउने वा फरक तरिकाबाट लगाउने भन्नेबारे केही बताएका छैनन् ।
तर उनले शनिबारदेखि अमेरिकाभर लागु हुनेगरी टिकटकमा प्रतिबन्ध लगाउने बताएका हुन् । अमेरिकाले टिकटक लगायतका अन्य चाइनिज एपमाथिपनि प्रतिबन्ध लगाउने बताउँदै आएको छ ।
राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकाले केही समयदेखि टिकटकमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । चाइनिज कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटकको सुरुवात गरेको थियो । त्यसपछि टिकटकका प्रयोगकर्ताहरु ह्वात्तै बढेका थिए ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफल सुरु गरेलगत्तै ट्रम्पको भनाई आएको हो । टिकटकमाथि भारतले प्रतिबन्ध लगाइसकेको छ भने अमेरिकामा पनि टिकटकमा उल्लेख्य प्रयोगकर्ताहरु रहेका छन् ।
२०७७ श्रावण १७, शनिबार प्रकाशित