सरकारले नेपाल बाल संगठनको वर्तमान कार्यसमिति विघटन, विद्या उपाध्याय न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

|
सरकारले नेपाल बाल संगठनको वर्तमान कार्यसमिति विघटन गरेर विद्या उपाध्याय न्यौपानेलाई अध्यक्ष नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष न्यौपानेले आजै पदबहाली गरेकी छिन् ।
आयोगले दिएको सुझाव अनुसार कार्यसमिति विघटन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए।
रिता सिंह (वैद्य) झण्डै तीन दशकदेखि संगठनको अध्यक्ष थिइन्। उनको नेतृत्वको कार्यसमितिमाथि पारदर्शिताको प्रश्न उठाउँदै मन्त्रिपरिषद्ले विघटनको निर्णय गरेको हो। बालसंगठनको काम र समग्र अवस्थाबारे अध्ययन, अनुगमन गर्न सरकारले पूर्व न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो।
गुरुङले बालसंगठन अहिलेसम्म निरकुंश शैलीमा चल्दै आएको भन्दै अब लोकतान्त्रिक विधि र पद्दति अनुसार चल्ने बताए। अनाथ बालबालबालिकालाई आश्रय दिएर शिक्षाको समेत व्यवस्था गर्ने गरी गठन भए पनि आफ्नै विधान विपरित काम गर्ने गरेको आरोप लाग्दै आएको थियो।
राष्ट्रिय निर्देशक ऐन, २०१८ अनुसार गठन भएको यो संस्थाको संरक्षक तत्कालीन मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह रहँदा सरकारले सबै जिल्लामा सरकारी जग्गा र भवन दिएको थियो। अहिले विभिन्न व्यक्तिले त्यसको फाइदा उठाइरहेको आयोगकाे प्रतिवेदनमा उल्लेख छ।
देशका सबै जिल्लामा जग्गा तथा भौतिक सम्पत्ति भए पनि अनियमितता र दुरुपयोग हुने गरेको प्रतिवेदनले देखाएको समितिले जानकारी दिए ।
बालसंगठनको केन्द्रीय नेतृत्व निरकुंश शैलीको भएको, अनाथ बालबालिकालाई धर्मपुत्र/पुत्रीको नाममा विदेशमा बेच्ने गरेको घटना समेत सार्वजनिक भएका छन्।

२०७७ श्रावण १६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।