माइती नेपालले सञ्चालन गरेको खाना अभियान २८ औं दिन पुग्यो

|

नेपालगन्ज /  माइती नेपालले सञ्चालन गरेको खाना अभियान आज २८ औं दिनमा बाँकेको कोहलपुरमा सन्चालन भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुरमा शुरु भएको हो ।अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गर्नुभएको छ । हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा सञ्चालन अभियानको पहिलो दिन मेयर रावतले खाना वितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुगेको धारणा ब्यक्त गर्नुभयो । उहाँले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै विपन्न परिवारहरुलाई राहत पुगेको बताउनुभयो ।

पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको सो अभिायनमा जोडिएका पुस्पा सुनारले बताईन् । यस क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा न–२० को गायत्रीनगरमा खाना बितरण गरिएको छ ।

यस्तै नेपालगन्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको छ ।कोरोना महामारीको प्रकोपका कारण सबैतिर समस्या भएपनि दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई परिवार पाल्न झनै गाह्रो बनाएको छ । बिद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस भनेर अभियान शुरु गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित यस अभियानका क्रममा नेपालगन्जकी उपमेयर उमा थापामगर, १२ का वडाअध्यक्ष बुद्धिसागर सुबेदी, १९ का वडा अध्यक्ष प्रशुराम बर्मा लगायत सहभागि हुनुभएको छ । दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइनेछ ।

२०७७ श्रावण १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।