काठमाडौं / कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित कूल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५० पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ७ सय ५४ पुगेको छ। । क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।