खजुरालाई प्लाष्टिक मुक्त बनाउने प्रयास

|
नेपालगन्ज / खजुरा गाउँपालिकाले खजुरालाई प्लाष्टिक मुक्त गाउँपालिका बनाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले त्यसका लागि गाउँपालिकाले महिलालाई प्रोत्साहन गर्दै झोलाको ब्याग उत्पादन गर्ने योजना बनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुराले झोला (सपिङ्ग ब्याग) निर्माण गरी खजुरा प्लास्टिक मुक्तनगर बनाउने अभियानमा लागेको हो ।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ मा शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर कपडाको झोला निर्माण कार्यको सुरुवात गरेको छ । २० लाखको लागतमा सुरु गरिएको उक्त उद्योगमा हाल १५ महिलाले रोजगारी पाएका छन् । गाउँपालिकाअध्यक्ष किस्मत कुमार कक्षपति ८ वटै वडाका महिलाका लागि लक्षित गरेर यो उद्योग सञ्चालन गर्दै लैजाने र मुनाफा नराखेर झोला बिक्री गर्ने बताए ।
‘कपडाको झोलालाई बजारमा ल्याएर प्लास्टिकका झोलाको प्रयोगलाई निरुत्साही गराउने हाम्रो लक्ष्य रहेको छ,‘ अध्यक्ष कक्षपतिले भने, ‘ जसको परिणाम खजुरालाई प्लास्टिक मुक्तनगर बनाउने मद्दत गर्छ । ‘कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य आइपि खरेलले उद्योगको उद्घाटन गरेका थिए । कार्यक्रममा खरेलले खजुरा गाउँपालिकाले सरकारको कामलाई वर्ग लक्षित तरिकाले अघि बढाउँदै लगेको बताए । उनले भने, ‘खजुरा गाउँपालिकाले सरकारले ल्याएका गतिविधिलाई सुनिचित ढंगले अघि बढाइरहेको छ । हरेक गतिविधिलाई वर्ग लक्षित तरिकाले अघि बढाइरहको छ ।‘
कार्यक्रममा प्रदेश सभासद बाबुराम गौतमले खजुरा गाउँपालिकाले सम्पुर्ण वर्गलाई समेटेर अघि बढेको बताए । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा खजुरा गाउँपालिकाले कार्य प्रगतिका आधारमा तयार पारेको समृद्ध खजुरा बुलेटिनको विमोचन गरेको छ । रंगशाला नेपाल मिडिया प्रालीले खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरेको बुलेटिनमा गाउँपालिकाको हासिल गरेका उपलब्धी, सम्भावना र आगामी योजनाका बारेमा समेटिएको छ ।

२०७७ श्रावण ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।