पत्रकार विनोदबाबु रिजालकाे एकान्तवास आउँदै

|

चितवन । पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ छिट्टै सार्वजनिक हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ ।

‘मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु’ लेखक रिजालले भने, ‘कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेको सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन । किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएका छन् । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उनले निबन्धात्मक रूप दिएका छन् । हरेक सन्दर्भलाई उनले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गरेका छन् ।

२०६१ सालबाट पत्रकारिता थालेका रिजाल कायाकैरन दैनिकमा सम्पादक छन् । स्थानीय रेडियो, टेलिभिजनमा समाचार प्रमुख भएर काम गरेका उनले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरेका थिए । युरेका पब्लिकेसनले प्रकाशन गर्ने पुस्तक नारायणगढको सम्पूर्ण किताबमा उपलब्ध हुनेछ ।

तीन सय पृष्ठको किताबको मूल्य ३ सय ७५ राखिएको छ । पुस्तक असार अन्तिमसम्ममा पाठकको हातमा आइपुग्ने युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए ।

२०७७ असार ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।