
काठमाडौं / देशका ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस (कोभिड –१९) को पीसीआर विधिबाट परीक्षण गर्ने अनुमति दिएको छ । नेपालगन्जमा रहेको बागेश्वरी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ।
उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।