काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ।
भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।