नेपालगञ्ज । ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बाँके जिल्ला घोषणा सभा’ शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय रामजीप्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बालबालिकालाई समयमै पूर्ण खोप उपलब्ध गराउनु राज्यको प्राथमिक जिम्मेवारी भएको बताउनुभयो। उहाँले खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्यकर्मी, विकास साझेदार तथा समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशकी प्रदेश सचिव दुर्गा लक्ष्मी श्रेष्ठ ले पूर्ण खोप सुनिश्चितता कायम राख्न नियमित अनुगमन, तथ्याङ्क व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले सबै सरोकारवालाको संयुक्त प्रयासबाट बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनुपर्ने धारणा राख्नुभयो।
जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा यसको दिगोपना कायम राख्न सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा पूर्ण खोप अभियानको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिएको थियो। साथै नियमित खोप सेवाको पहुँच विस्तार, खोप छुटेका बालबालिकाको पहिचान तथा स्थानीय तहको स्वामित्व अभिवृद्धि गर्दै खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा यसको दिगोपना कायम राख्न सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।






