नेपालगञ्जमा सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया

|

नेपालगञ्ज। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा समन्वयमा शुक्रबार सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा कर अधिकृत उदयराम केसीले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई उपलब्ध छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र कर सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए। प्रस्तुतिपछि सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको उनले जवाफ दिएका थिए।
केसीले आर्थिक विधेयक २०८३ मार्फत अहिलेसम्मकै धेरै कर छुट तथा सहुलियतको व्यवस्था गरिएको जानकारी दिँदै करदातालाई आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी उपलब्ध सुविधाको लाभ लिन आग्रह गरे। उनले ती व्यवस्था र अवसरबारे नागरिकलाई समयमै सुसूचित गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कर प्रशासनलाई थप पारदर्शी, सरल र सेवामैत्री बनाउन कार्यालय निरन्तर प्रयासरत रहेको बताए। सही, तथ्यपरक र विश्वसनीय कर सूचना आम नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले कर सम्बन्धी भ्रम हटाउन र कर सचेतना विस्तार गर्न पत्रकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया उपयोगी रहेको बताए। उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए।
उनले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गत वर्ष पनि नेपाल पत्रकार महासंघ बाँके शाखासँगको समन्वयमा यस्तै कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

२०८३ असार १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।