काठमाडौं / कान्तिपुर मिडिया ग्रुपले मनोज बस्नेतलाई महाप्रबन्धक (प्रिन्ट तथा सप्लाई चेन) पदमा नियुक्त गरेको छ। ग्रुप व्यवस्थापनले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो।
बस्नेत यसअघि करिब दुई वर्ष अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धकको रूपमा कार्यरत थिए। उनले करिब १९ वर्षअघि काभ्रे जिल्ला संवाददाताका रूपमा कान्तिपुर दैनिकबाट पत्रकारिता तथा मिडिया व्यवस्थापन क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए।
उनसँग समाचार रिपोर्टिङ, बिक्री तथा वितरण, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन र सप्लाई चेन व्यवस्थापनलगायत क्षेत्रमा लामो अनुभव रहेको छ। यसअघि उनले कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडिया नेटवर्कमा रिपोर्टिङ, प्रेस, बिक्री–वितरण, रिजनल, मार्केटिङ, सेल्स तथा कर्पोरेट विभागको नेतृत्वसमेत गरिसकेका छन्।
मिडिया व्यवस्थापनलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने उद्देश्यले बस्नेतले अमेरिका र भारतका प्रतिष्ठित प्रिन्ट, टेलिभिजन तथा डिजिटल मिडिया संस्थाहरूको अध्ययन तथा अवलोकन भ्रमणसमेत गरेका छन्।
नियुक्तिपछि बस्नेतले संस्थाप्रति प्रतिबद्धता व्यक्त गर्दै भने, “संस्था बाँचे मात्र हामी बाँच्छौं भन्ने मान्यतालाई आत्मसात् गर्दै दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन।”
बस्नेत मार्च २०२४ देखि अमेरिकन मार्केटिङ एसोसिएसनका प्रोफेसनल सदस्य हुन्। साथै, उनी इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (IFJ) का प्रेस कार्ड होल्डर, युथ युनेस्को क्लब (अमेरिका) का इन्टरनेसनल मिडिया एड्भाइजर तथा इन्टरनेसनल न्युज मिडिया एसोसिएसनसँग समेत आबद्ध छन्।
सञ्चार, युवा सशक्तीकरण तथा मानवीय सेवामा पुर्याएको योगदानका लागि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्। उनलाई अमेरिकाबाट युनेस्को युथ पिस एम्बेसडर अवार्ड, भारतको कोरोना योद्धा सेवा अवार्ड, राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार, कान्तिपुर मिडिया ग्रुपको चेयरम्यान एक्सिलेन्स अवार्ड, अन्नपूर्ण मिडिया नेटवर्कको बेस्ट इम्प्लोयी अफ द इयर अवार्डलगायत विभिन्न सम्मान प्राप्त भएका छन्।
त्यसैगरी अमेरिकाका विभिन्न राज्य तथा स्थानीय निकायका जनप्रतिनिधिहरूबाट असाधारण नेतृत्व, कार्यसम्पादन, मिडिया नेतृत्व तथा नेपाली समुदायमा सञ्चार क्षेत्रमार्फत पुर्याएको योगदानका लागि प्रशंसापत्र र सम्मानपत्रबाट पनि उनी सम्मानित भइसकेका छन्।






