काठमाडौं / नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को नवगठित तदर्थ समितिका पदाधिकारीहरूले बुधबार केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट अघिल्लो तदर्थ समिति विघटन गर्दै दोलखाका विशालकुमार भण्डारी को अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो।
समितिको महामन्त्रीमा ऋषि रमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य तथा सदस्यहरूमा वसन्त कुमार श्रेष्ठ, अबिस्मी न्यौपाने, पुष्पा दास, प्रेम लामा, मोहम्मद आयतुल्ला रहमान र मञ्जु साउँद (बोहरा) रहेका छन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २९ गते दिएको जिम्मेवारीअनुसार तदर्थ समितिले नेपाल रेडक्रस सोसाइटीमा डिजिटल सदस्यता प्रणाली विकास तथा कार्यान्वयन गर्ने, सबै सदस्यको अनिवार्य सदस्यता दर्ता, नवीकरण र अद्यावधिक सुनिश्चित गर्ने तथा सदस्यता विस्तारका लागि सामाजिक सञ्जाललगायतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्नेछ।
यसैगरी समितिलाई युवाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने, संस्थाको संरचनालाई नेपालको संघीय शासन प्रणालीअनुसार संघ, प्रदेश र स्थानीय तहमा पुनःसंरचना गर्ने, ‘एक व्यक्ति, एक पद’ नीति कार्यान्वयन गर्ने तथा डिजिटल रूपमा अद्यावधिक सदस्यहरूको सहभागितामा संस्थाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि दिइएको छ।
पदभार ग्रहणका अवसरमा नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरूले नवगठित तदर्थ समितिका पदाधिकारीहरूलाई केन्द्रीय कार्यालयमा स्वागत गरेका थिए।
नवगठित समितिले पारदर्शी, प्रविधिमैत्री र समावेशी संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।






