जानकी (बाँके) । स्थानीय तहमा बालअधिकार संरक्षण तथा बालमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (CPIMS) सम्बन्धी तीनदिने तालिम शुक्रबारदेखि सुरु भएको छ।
जानकी गाउँपालिकाको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकास मञ्चको सहयोगमा सञ्चालन भएको तालिममा स्थानीय सरकारका बालअधिकार समितिका पदाधिकारी, बाल संरक्षणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायस्तरका सहभागीहरूको सहभागिता रहेको छ।
तालिममा बाल संरक्षण प्रणालीको विकास, बालअधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, घटना व्यवस्थापन, बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा सेवा प्रवाहसम्बन्धी विषयमा सहजीकरण गरिएको छ। प्रशिक्षक प्रकाश उपाध्यायले बाल संरक्षणका व्यवहारिक तथा प्राविधिक पक्षबारे प्रशिक्षण दिनुभएको छ।

जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चण्डिका प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाको अधिकार संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन प्रणालीको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक भीमबहादुर सार्की, बाल संरक्षण अधिकृत जनक चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बाल क्लबका पदाधिकारी, वडा सचिव, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो। आयोजकका अनुसार तालिममा ३० जनाको सहभागिता रहेको छ।
तालिमले बाल संरक्षणका घटनाको प्रभावकारी अभिलेखीकरण, व्यवस्थापन तथा आवश्यक सेवा प्रवाहमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुका साथै तथ्यांक व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिमले बाल संरक्षणका क्षेत्रमा स्थानीय तह र सरोकारवाला निकायबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। तालिम आइतबार सम्पन्न हुनेछ।






