संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा नेपालको ‘वायुदृष्टि’ छनोट

|

काठमाडौं / नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ (Vayudrishti) संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ । जलवायु–प्रविधि (क्लाइमेट–टेक) क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले तयार पारेको “एसटीआई सोलुसन्स बुक २०२६” मा समावेश गरेको हो ।

विश्वभरबाट प्राप्त भएका ९०० भन्दा बढी प्रविधिमूलक तथा डिजिटल नवप्रवर्तनबीच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो । दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न योगदान पु¥याउने, व्यवहारिक तथा विश्वभर विस्तार गर्न सकिने समाधानका रूपमा यसको छनोट गरिएको बताइएको छ ।

नेपालमा विकास गरिएको यो प्लेटफर्मले वायु प्रदूषणलाई वैज्ञानिक र सहज तरिकाले सर्वसाधारणसम्म पु¥याउने उद्देश्य राखेको छ । कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडित सेन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत यसले वास्तविक समयको वायु गुणस्तर जानकारी उपलब्ध गराउँदै आएको छ ।

‘वायुदृष्टि’ बोट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत विकास गरिएको हो । यसका संस्थापक नुवाकोट शिवपुरी गाउँपालिका–७ का सक्रिय पाण्डे तथा सहसंस्थापक श्रीषा पाण्डे रहेका छन् । सहसंस्थापक श्रीषा पाण्डे नेपाल युवा परिषदद्धारा आयोजना गरिएको राष्ट्रिय युवा सम्मेलन २०२३ मा नुवाकोट जिल्लाबाट प्रतिनिधि भई नुवाकोट जिल्लाको समग्र युवाहरुको सवाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपुर्ण भुमिका खेलेका थिए।
यसैबीच, सहसंस्थापक श्रीषा पाण्डे आगामी जुन ११ र १२ मा अमेरिकाको वाशिङ्टन डी.सी.स्थित विश्व बैंकको मुख्यालयमा आयोजना हुने प्रतिष्ठित “वल्र्ड बैंक ग्रुप युथ समिट २०२६” मा नेपालका तर्फबाट सहभागी हुने भएकी छन्। सम्मेलनमा उनले नेपाली युवाको क्षमता, डिजिटल नवप्रवर्तन तथा दिगो विकासका विषयमा नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने बताइएको छ ।

विश्व बैंक समूहद्वारा आयोजना हुने यो सम्मेलन विश्वभरका १७० भन्दा बढी देशका युवालाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय युवा मञ्चमध्ये एक मानिन्छ । श्रीषाको सहभागितालाई नेपाली युवाको बढ्दो अन्तर्राष्ट्रिय उपस्थिति र नवप्रवर्तन क्षमताको प्रतीकका रूपमा हेरिएको छ ।
वर्तमान समयमा विश्वभर वायु प्रदूषण, जलवायु परिवर्तन तथा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित चुनौती तीव्र बन्दै गइरहेका बेला ‘वायुदृष्टि’ ले समुदाय, विद्यालय, अनुसन्धानकर्ता, उद्योग र सरकारी निकायलाई भरपर्दो वातावरणीय जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

संयुक्त राष्ट्रसंघको यस वर्षको प्रतिवेदनले सन् २०३० सम्मको दिगो विकास एजेन्डालाई सहयोग गर्ने विज्ञान तथा प्रविधिमा आधारित नवप्रवर्तनलाई प्राथमिकतामा राखेको छ । विशेषगरी सफा पानी, स्वच्छ ऊर्जा, दिगो शहर, पूर्वाधार तथा साझेदारीसँग सम्बन्धित क्षेत्रमा प्रभावकारी योगदान दिने समाधानहरूलाई सूचीमा समावेश गरिएको हो ।
‘वायुदृष्टि’ टोलीले यस उपलब्धिलाई नेपालका लागि गौरवको विषय भएको जनाएको छ। टोलीद्वारा जारी वक्तव्यमा भनिएको छ, “हामीले अदृश्य रहेको वायु प्रदूषणलाई देखिने र मापनयोग्य बनाउने उद्देश्यका साथ यो यात्रा सुरु गरेका थियौं। संयुक्त राष्ट्रसंघबाट प्राप्त यो मान्यताले नेपालबाटै विश्वस्तरीय प्रविधि निर्माण गर्न सकिन्छ भन्ने विश्वास अझ बलियो बनाएको छ ।”

यो उपलब्धिले नेपालजस्ता विकासोन्मुख मुलुकबाट पनि युवाको नेतृत्वमा विश्वस्तरीय प्रविधि विकास हुन सक्ने सम्भावना उजागर गरेको विश्लेषण गरिएको छ। नवीन सोच, निरन्तर अनुसन्धान र प्रतिबद्धतामार्फत नेपाली युवाले विश्व मञ्चमा प्रभावकारी उपस्थिति जनाउन सक्ने उदाहरणका रूपमा ‘वायुदृष्टि’ लाई हेरिएको छ ।

टोलीले आगामी दिनमा नेपालभित्र र बाहिर वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै सफा हावा, स्वस्थ समुदाय तथा दिगो भविष्य निर्माणमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

२०८३ जेष्ठ १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।