प्रादेशिक बाल भेला सम्पन्न, १५ बुँदे नेपालगञ्ज घोषणा पत्र जारी

|
नेपालगञ्ज । १५ बुँदे नेपालगञ्ज घोषणा पत्र जारी गर्दै लुम्बिनी प्रदेश स्तरीय बाल भेला, बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

भेलाले लुम्बिनी प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने पहल, बालबालिकासम्बन्धी योजना तथा कार्यक्रमको सुनिश्चितता, प्रदेशका सबै जिल्ला र पालिका तहमा बाल समिति तथा सञ्जालको गठन तथा पुनर्गठन, बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षणको सुनिश्चिततासहितका विषय समेटेर घोषणा पत्र जारी गरेको हो।

समापन कार्यक्रममा बोल्दै प्रदेश बाल अधिकार समितिकी सदस्य सचिव सम्झना सुवेदी ले सर्वसम्मत रुपमा चयन भएको प्रदेश स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई बधाई दिँदै बालबालिकाको सर्वाङ्गीण विकासमा सञ्जालले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले बालबालिकाका सवाल सामाजिक विकास मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै साझा उद्देश्य प्राप्तिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जालका तर्फबाट बोल्दै हेमराज भट्ट ले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपालगञ्ज घोषणा पत्र कार्यान्वयनमा सबैको साझा प्रतिबद्धता रहने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष महिमा खनाल ले आफूलाई सर्वसम्मत नेतृत्वको जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै बालबालिकाको हक, अधिकार र बालमैत्री प्रदेश घोषणाको अभियानमा प्रतिबद्ध भएर काम गर्ने बताइन्। आगामी दुई वर्ष सबैसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा योजना आयोगकी सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्मा, महिला विकास निरीक्षक कमला ज्ञवालीPeace Nepal का अध्यक्ष मणि प्रसाद गैह्रे, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

Save the Children InternationalPeace Nepal तथा बाल अधिकारका लागि नागरिक संस्थाहरुको सञ्जाल लुम्बिनी प्रदेशको सहजीकरणमा आयोजित कार्यक्रम सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको हो। जेठ ९ गतेदेखि सुरु भएको भेलाको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले गरेका थिए। भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका बालबालिका तथा अभिभावकहरुको सहभागिता रहेको थियो।

१३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन

नेपालगञ्जमा सम्पन्न भेलाले सर्वसम्मत रुपमा १३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन गरेको छ।

सञ्जालको अध्यक्षमा रुपन्देहीकी महिमा खनाल चयन भएकी छन्। उपाध्यक्षमा रुकुमपूर्वका शक्ति विक, सचिवमा नवलपरासीका दिपेश न्यौपाने, सहसचिवमा अर्घाखाँचीका आशिष घिमिरे तथा कोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा रोल्पाकी परिसा आचार्य, कपिलवस्तुकी नाइसा अधिकारी, दाङकी आयुषा चौधरी, बाँकेका अरमान शेष, बर्दियाका लिजन थारु, कपिलवस्तुका रिन्क नटुवा, गुल्मीका प्रयास पाण्डे र पाल्पाकी अन्जु वयम्बु रहेका छन्।

नवनिर्वाचित पदाधिकारीहरुलाई सदस्य सचिव सम्झना सुवेदी, योजना आयोगकी सदस्य शान्ता भण्डारी, प्रमुख ऋषिराज शर्मा, महिला विकास निरीक्षक कमला ज्ञवाली तथा पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले अबिर, खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए।

 

 

२०८३ जेष्ठ १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।