काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त को नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटोपत्रकार संघ को निमन्त्रणमा बंगलादेश प्रस्थान गरेको छ ।
केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटोपत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।

टोलीले बंगलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र झल्काउने ४० वटा तस्बिर राखिने कार्यक्रम रहेको समूहले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नु रहेको छ ।
त्यसैगरी, बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोपत्रकारिता सेमिनारमा पनि नेपाली टोलीले सहभागिता जनाउनेछ । उक्त सेमिनारमा अध्यक्ष वन्तले नेपालको समग्र फोटोपत्रकारिता तथा एसियाली सन्दर्भमा यसको अवस्था र चुनौतीबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

टोलीले ‘आईएचआई फोटोजर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा पनि सहभागिता जनाउनेछ । भ्रमणका क्रममा टोलीले कक्स बजार, चिट्टगाउँ र ढाका लगायतका प्रमुख पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
यस प्रकारका आदान–प्रदान कार्यक्रमले दुई देशबीचको पेशागत सम्बन्ध मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।






