बर्दिया । वार्ड स्तरीय बाल अधिकार समितिका सदस्यहरूका लागि केस व्यवस्थापन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम राजापुर नगरपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ । अप्रिल २६–२७, २०२६ मा आयोजना गरिएको उक्त तालिम जिएसएस परियोजना अन्तर्गत राधाकृष्ण जनसेवा केन्द्रले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको हो ।
समुदायका जोखिममा रहेका बालबालिका तथा किशोरकिशोरीहरूको संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको तालिमले स्थानीय तहमा बलियो र उत्तरदायी बाल संरक्षण प्रणाली निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

तालिममा बाल संरक्षणसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान र सीपहरू—जस्तै केस पहिचान, सन्दर्भ प्रणाली (रेफरल पाथवे), अभिलेखीकरण (डोकुमेन्टेसन) र सुरक्षा (सेफगार्डिङ)—का विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।
समूह छलफल, केस अध्ययन तथा अभ्यासात्मक विधिहरू (सिमुलेसन) मार्फत सहभागीहरूले बाल संरक्षणका घटनाहरूलाई प्रभावकारी, संवेदनशील र नैतिक रूपमा सम्बोधन गर्ने क्षमता विकास गरेका छन् । कार्यक्रमले वार्डस्तरमै बाल अधिकार संरक्षणका सवालमा दक्ष जनशक्ति तयार गर्न सहयोग पु¥याएको विश्वास लिइएको छ ।






