नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँके शाखाले नेपाल पत्रकार महासङ्घ बाँके शाखाको प्रवेशद्वारमा कालो ब्यानर टाँग्दै स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक घोषणा गर्न दबाब दिएको छ।
फोनिज बाँकेले केन्द्रीय कार्यक्रमअनुसार उक्त कदम चाल्दै श्रेष्ठलाई संस्थापकका रूपमा मान्यता दिन माग गरेको हो। स्व. श्रेष्ठले विसं २००८ साल वैशाख ९ गते तत्कालीन नेपाल पत्रकार सङ्घ स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने महत्वपूर्ण योगदान दिएको फोनिजको दाबी छ।
कार्यक्रममा बोल्दै फोनिजका सङ्घीय सदस्य प्रज्ववल श्रेष्ठले विभिन्न कालखण्डमा आदिवासी जनजाति समुदाय विभिन्न कारणले दबाबमा परेको उल्लेख गर्दै आदिवासी भएकै कारण कसैलाई पनि पाखा लगाउन नहुने बताए। उनले सत्यनारायण बहादुर श्रेष्ठलाई महासङ्घले संस्थापकका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, फोनिजका सङ्घीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज गजेन्द्र गुरुङले स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासङ्घले यथाशीघ्र उहाँलाई संस्थापकका रूपमा मान्यता दिन पहल गर्नुपर्ने बताए। उनले श्रेष्ठलाई संस्थापक मान्न पर्याप्त आधारहरू रहेको उल्लेख गरे।

फोनिजका नेताहरूले तत्कालीन नेपाल पत्रकार सङ्घ नै अहिलेको नेपाल पत्रकार महासङ्घको रूपान्तरण भएको दाबी गर्दै यसको ऐतिहासिक निरन्तरता कायम गर्न आवश्यक रहेको बताए। कार्यक्रममा फोनिज लुम्बिनी प्रदेश कोषाध्यक्ष भगतराम थारु, बाँके अध्यक्ष अशोक थापा मगर, उपाध्यक्ष सोम गुरुङ लगायतले वैशाख ९ लाई महासङ्घको स्थापना दिवसका रूपमा मनाउन र स्व. सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक घोषणा गर्नुपर्ने माग दोहोर्याए।
फोनिजले लामो समयदेखि उक्त अभियान चलाउँदै आएको उल्लेख गर्दै महासङ्घको २७औँ महाधिवेशनले गरेको निर्णयअनुसार संस्थापक विषय टुंग्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न समेत माग गरेको छ।






