नागरिक एपमा राष्ट्रिय पञ्जीकरणका सेवा एकीकृत हुँदै

|

जन्म–विवाह दर्ता पनि डिजिटल हुने

काठमाडौं / सरकारले नागरिक सेवाहरूलाई थप सहज र डिजिटल बनाउन राष्ट्रिय पञ्जीकरणका विवरणहरूलाई नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका सेवाहरूलाई एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु भइसकेको छ।

उनले केही समयभित्रै यी सेवाहरू कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। तथ्याङ्क एकीकरणपछि नागरिकले जन्म दर्ता, विवाह दर्ता जस्ता प्रमाणपत्रहरू नागरिक एपमार्फत नै प्राप्त गर्न सक्नेछन्।

सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित पछिल्लो समय अनलाइन सेवाहरू विस्तारमा जोड दिएको छ। यसैक्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) पनि नागरिक एपमार्फत उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्रसमेत नागरिक एपबाटै उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा समावेश गरी ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्न विभागलाई निर्देशन दिएका छन्।

मन्त्रालयको सक्रिय पहल र विभिन्न निकायसँगको समन्वयमा प्रणाली विकास तथा परिमार्जनको काम तीव्र गतिमा भइरहेको छ। यस विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि प्राथमिकतामा राखिएको छ।

हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सुविधा सञ्चालनमा आइसकेको छ। आगामी दिनमा थप सेवाहरू समेटिँदै जाँदा नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’का रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ।

डिजिटल माध्यमबाट सेवा प्रवाह विस्तार हुने यस कदमले सेवाग्राहीलाई समय, लागत र झन्झटबाट राहत दिने अपेक्षा गरिएको छ भने सरकारी सेवा वितरणलाई थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने विश्वास गरिएको छ।

२०८३ बैशाख २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।