समीर परियार बने ‘लैङ्गिक समानता च्याम्पियन २०२६’ का दक्षिण एसियाली विजेता

|

काठमाडौं / नेपालका युवा अभियानकर्मी समीर परियार अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान ‘लैङ्गिक समानता च्याम्पियन २०२६’ बाट सम्मानित भएका छन्। Global Unites द्वारा आयोजित “परिवर्तनका अग्रदूत – दक्षिण एसिया” पहल अन्तर्गत उनलाई दक्षिण एसिया क्षेत्रको विजेता घोषित गरिएको हो।

लैङ्गिक समानता, समावेशी समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा परियारले पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

विशेषगरी उनले समुदायस्तरमा पुगेर सामाजिक विभेद विरुद्ध आवाज उठाउँदै आएका छन्। साथै, मर्यादित महिनावारी (Menstrual Dignity) का विषयमा देशव्यापी सचेतना फैलाउने अभियानमा समेत उनको सक्रिय भूमिका रहेको छ। सीमान्तकृत तथा पछाडि पारिएका समुदायलाई मूलधारमा ल्याउने र उनीहरूको हक–अधिकार सुनिश्चित गर्ने प्रयासलाई महत्वपूर्ण रूपमा लिइएको छ।

सानै उमेरदेखि सामाजिक परिवर्तनका लागि देखाएको नेतृत्व, सक्रियता र प्रतिबद्धताले उनलाई यो उपलब्धि दिलाएको हो। यस सम्मानसँगै परियारले ५०० अमेरिकी डलरको माइक्रो–ग्रान्ट समेत प्राप्त गरेका छन्। उक्त रकम सन् २०२६ मा सामाजिक कार्य विस्तार तथा समुदायमा सकारात्मक प्रभाव पार्ने परियोजनाहरूमा खर्च गरिने जनाइएको छ।

“यो सम्मानले नेपाली युवाहरूले लैङ्गिक समानता र सामाजिक परिवर्तनका क्षेत्रमा गरिरहेको प्रयासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ। यसले मलाई अझ जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा दिएको छ,” विजेता परियारले प्रतिक्रिया दिए।

समीरको यो सफलताले नेपाली युवा नेतृत्वको क्षमता र योगदानलाई विश्वस्तरमा उजागर गरेको छ।

दक्षिण एसियाका विभिन्न देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले हासिल गरेको यो उपलब्धि नेपालका लागि गौरवपूर्ण मानिएको छ।

२०८२ चैत्र २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।