काठमाडौं — प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदबाट बर्खास्त गरेका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाइएको हो।
महोत्तरी–२ बाट निर्वाचित साह मन्त्री बनेको १४ दिनमै पदमुक्त भएका हुन्। आफ्नै पारिवारिक सदस्यलाई पदमा पुनः नियुक्त गराएको विषयमा विवादमा परेपछि उनलाई हटाइएको हो।
साहले आफ्नी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः फर्काएको विषय सार्वजनिक भएपछि आलोचना बढेको थियो। उनी यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका थिए।
रास्वपाको ‘राइट टु रिकल’ नीतिअनुसार पार्टीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। पार्टीको अनुशासन समितिले गरेको छानबिनमा मन्त्री साहकै योजनामा श्रेष्ठलाई बोर्डमा पुनः नियुक्त गरिएको प्रमाण भेटिएको दाबी गरिएको छ।
रास्वपा सभापति रवि लामिछाने ले मन्त्री साहले पदको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यसअघि नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले विस्तृत अध्ययनपछि साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा पार्टीले सरकारलाई सिफारिस गरेपछि प्रधानमन्त्री शाहले अन्ततः उनलाई पदबाट हटाएका हुन्।
मन्त्री साहको उक्त गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पर्ने निष्कर्ष निकाल्दै रास्वपाले कडा कदम चालेको जनाएको छ।






