खजुरा–३ मा जीवन उपयोगी सिप तालिम सुरु

|

खजुरा / किशोरी तथा बालक्लबका पदाधिकारीहरूका लागि जीवन उपयोगी सिप सम्बन्धी दुई दिने तालिम खजुरा गाउँपालिका वडा नम्बर ३ मा सुरु भएको छ। खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोग तथा बास नेपालको आयोजनामा चैत्र २३ गतेदेखि तालिम सञ्चालन भएको हो।

तालिमको उद्घाटन गर्दै वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर भण्डारीले किशोरी तथा बालक्लबका पदाधिकारीहरूलाई व्यवहारिक सिप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले जीवन उपयोगी सिप तालिमले व्यक्तिको व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सक्रिय रूपमा तालिममा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले दैनिक जीवनमा आइपर्ने समस्या समाधानका उपाय जीवन उपयोगी सिप तालिममार्फत सिक्न सकिने बताए। उनले तालिमलाई उपलब्धिमूलक बनाउन सक्रिय सहभागिताको आवश्यकता औँल्याए।

बास नेपालका कार्यक्रम अधिकृत शोभा थापा मगरले सञ्चालन गरेको तालिममा स्वागत तथा उद्देश्यबारे बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए। तालिममा जीवन उपयोगी सिप, बाल अधिकार संरक्षण तथा जीवन उपयोगी सिपका तत्वहरूका विषयमा विभिन्न प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्।

तालिममा वडा नम्बर ३ का ३५ जना बालक्लब पदाधिकारी र किशोरीहरूको सहभागिता रहेको छ। दुई दिने तालिम चैत्र २४ गते समापन हुने आयोजकले जनाएको छ।

२०८२ चैत्र २३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।