काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र आपूर्तिमा देखिएको असहजतालाई सम्बोधन गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि अर्थात् चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार यो व्यवस्था सरकारी कार्यालयहरू र सम्पूर्ण शैक्षिक संस्थाहरूमा लागू हुनेछ।
कार्यालय समयमा परिवर्तन दुई दिन बिदा दिएसँगै सरकारले सरकारी कार्यालयको कार्यसमय पनि हेरफेर गरेको छ। अब शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरू बिहान ९ बजे खुल्नेछन् र साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय १० देखि ५ बजेसम्म रहेको थियो।
किन गरियो यस्तो निर्णय? अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्तिमा समस्या उत्पन्न भएकाले इन्धन खपत कम गर्ने उद्देश्यले यो कदम चालिएको प्रवक्ता पोखरेलले जानकारी दिए। यो निर्णयले सवारी साधनको चाप कम हुने र राज्यको व्ययभार पनि घट्ने सरकारको विश्वास छ।
यसअघि पनि परीक्षणका रूपमा दुई दिन बिदा दिने अभ्यास गरिए पनि प्रभावकारी नभएको भन्दै हटाइएको थियो। तर, वर्तमान परिस्थितिमा इन्धन संकट टार्न पुनः यो निर्णय गरिएको हो।






