गैंडाकोट / स्वतन्त्र पत्रकार सङ्घ नेपाल को पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा गैंडाकोटमा सम्पन्न भएको छ। अधिवेशनबाट कृष्णप्रसाद बास्तोला पुनः अध्यक्षमा चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तिर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन हुनुभएको छ। सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बाग्लुङ), कृष्णबहादुर रायमाझी (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा, सुरेशप्रसाद सैजु (भक्तपुर) तथा सागर कार्की (कास्की) निर्वाचित हुनुभएको छ।
अधिवेशनको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदय बहादुर अमात्य लाई २५ हजार रुपैयाँ राशिको “सामाजिक पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो। पुरस्कार ग्रहणपछि अमात्यले पत्रकारिता स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले स्वतन्त्र पत्रकारिताले निष्पक्षता कायम गर्ने र कुनै पनि दलले स्वतन्त्र पत्रकारलाई आफ्नो प्रभावमा राख्न नसक्ने बताउनुभयो।
कार्यक्रममा अध्यक्ष बास्तोलाले संघको स्थापना पृष्ठभूमि स्पष्ट पार्दै २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट संघको यात्रा सुरु भएको जानकारी दिनुभयो। कास्कीबाट सुरु भएको संघ अहिले देशका विभिन्न जिल्लामा विस्तार भइसकेको उहाँले बताउनुभयो।
उहाँका अनुसार दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारहरूको साझा मञ्चका रूपमा संघलाई विकास गरिएको हो। “पत्रकारले मतदान गर्नु बाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु हुँदैन,” अध्यक्ष बास्तोलाको भनाइ थियो।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बास्तोलाले संघ विधानअनुसार सञ्चालन हुने बताउँदै स्वतन्त्र पत्रकारिताको मूल उपलब्धि ‘आत्मसन्तुष्टि’ भएको उल्लेख गर्नुभयो। उहाँले कुनै आग्रह–पूर्वाग्रहबिना लेखिएको समाचारले कसैलाई हानि नपुर्याओस् भन्ने विश्वास नै पत्रकारको शक्ति भएको बताउनुभयो।
साथै, बदलिँदो समयसँगै प्रविधिमैत्री पत्रकारिता अपरिहार्य बनेको भन्दै पत्रकारहरूलाई डिजिटल सीपमा सक्षम बनाउँदै पत्रकारितालाई अझ प्रभावकारी बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ।






