निर्धनद्वारा बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण

|

डुडुवा, बाँके। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय उदयपुरले बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ।

संस्थाको उदयपुर शाखाले डुडुवा गाउँपालिका वडा नं. ६, पहाडीपुर निवासी शंकर सिंह थापाको निधनपछि उहाँका छोरा संगम सिंह थापालाई बीमा क्षतिपूर्ति बापत रु. १४ लाख ३० हजार बराबरको चेक हस्तान्तरण गरेको हो।

एक कार्यक्रमकाबीच उक्त चेक डुडुवा गाउँपालिका वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष तथा प्रमुख अतिथि जयन्ती महतोले हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व उर्मिला भण्डारीले गर्नुभएको थियो भने विशिष्ट अतिथिका रूपमा संस्थाका क्षेत्रीय प्रमुख पूर्णबहादुर खड्का तथा अतिथिहरू नेकपा एमाले जिल्ला सदस्य अशोक कुमार थापा र सनराइज स्कुलका प्रधानाध्यापक छविलाल भण्डारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा मृतक सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले शोक मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले वित्तीय संस्था र स्थानीय समुदायबीचको सम्बन्ध अझ मजबुत हुनुपर्ने बताउनुभयो। उहाँले संस्थाले आफ्ना ऋणी सदस्यहरूलाई बीमा सुविधा उपलब्ध गराउनुका साथै मृत्यु पश्चात् बाँकी ऋण मिनाहा गर्ने तथा तिरिसकेको रकम फिर्ता गर्ने व्यवस्था गर्नु सकारात्मक र सराहनीय कार्य भएको उल्लेख गर्नुभयो। कार्यक्रमको सञ्चालन उदयपुर शाखाका प्रमुख उमानन्द तिमिल्सिनाले गर्नुभएको थियो।

२०८२ चैत्र ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।