नेपालगन्ज । नेपालगन्ज–४, सल्यानीबागस्थित गोल्डेन एबिसी एकेडेमी स्कुलले बुधबार आफ्नो वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुधन चौलागाईंले शिक्षाले मानवलाई सचेत र सबल बनाउने भएकाले अभिभावकहरूले आफ्ना छोराछोरीको शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयहरू नेपाल सरकारको नीति तथा नियमभित्र रही सञ्चालन हुनुपर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिई उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो।
विद्यालयका प्रबन्धक निर्देशक विकास बहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा प्रतिबद्ध रहने जनाएको छ।






