आचारसंहिता उल्लंघन गर्ने पत्रकार र सञ्चारमाध्यमप्रति कडा कदम चालिन्छ : अध्यक्ष आचार्य

|

नेपालगञ्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकार तथा सञ्चारमाध्यमप्रति आवश्यक परे कडा कदम चालिने चेतावनी दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा तथा प्रेस काउन्सिल नेपालको सहकार्यमा सम्पन्न ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारितामा आचारसंहिता पालनामा लापरवाही भए सुरुमा सचेत गराइने र त्यसपछि पनि सुधार नआए कठोर निर्णय लिइने स्पष्ट पार्नुभयो ।

उहाँले जिम्मेवार, तथ्यपरक र मर्यादित पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै आचारसंहिता कार्यान्वयनमा प्रेस काउन्सिल नेपाल गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय अधिकृत सविता ढकालले पत्रकार आचारसंहिता कार्यान्वयन, अनुगमन प्रक्रिया तथा पत्रकारिताको जिम्मेवारीसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले आचारसंहिता, प्रेस काउन्सिल नेपालको भूमिका, कार्यक्षेत्र र अधिकारबारे व्यापक छलफल गरेका थिए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, पत्रकारहरू कृष्ण अधिकारी, आरिफ अन्सारी, अछरी पोखरेल, डक्ट प्रसाद धिताल, कमल खत्री, विरेन्द्र जैसी, विजय मल्ल, समिरमान श्रेष्ठ, रविन्द्र घिमिरे लगायतले आफ्नो जिज्ञासा, सुझाव र पृष्ठपोषण प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शाखा सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

२०८२ माघ २०, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।