नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँके शाखाले शाखाका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को छैठौं स्मृति दिवस मनाएको छ।
विहीबार नेपालगन्ज–४ स्थित सञ्चारग्राम (बसपार्क) मा रहेको महासंघ कार्यालयमा पन्नालाल गुप्त प्रतिष्ठानको समन्वयमा आयोजित स्मृति दिवसका अवसरमा ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको हो।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले गुप्तको निष्ठा, इमानदारिता र आदर्श पत्रकारितालाई अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए। जीवनको अन्तिम समयसम्म पनि पत्रकारितामा सक्रिय गुप्त लोकतन्त्र पुनःस्थापनामा मिसन पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्याएको स्मरण गरिएको थियो।
कार्यक्रममा महासंघ कार्यसमिति सदस्य समिरमान श्रेष्ठले फ्याक्ट चेकसम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य औजार भएको बताए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरू अझ जिम्मेवार र सजग हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष तथा गुप्तका जेष्ठ सुपुत्र वरिष्ठ अधिवक्ता विजयकुमार गुप्त, महासंघ बाँकेका अध्यक्षद्वय झलक गैरे र निरज कुमार गौतम, विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा अग्रज पत्रकारहरूले स्वर्गीय गुप्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै मर्यादित पत्रकारिताको आवश्यकता औंल्याएका थिए।
साथै, त्रिभुवन चोक पूर्व लाइनलाई ‘पन्नालाल मार्ग’ र गुप्तको निवास अगाडिको चोकलाई ‘पन्नालाल चोक’ नामाकरण गर्न नेपालगन्ज उपमहानगरपालिकामा गरिएको लिखित आग्रहलाई निष्कर्षमा पुर्याउनुपर्नेमा समेत जोड दिइएको छ।
कार्यक्रम महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले सञ्चालन गरेका थिए भने कार्यक्रममा चार दर्जनभन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।






