डुडुवा (बाँके) । राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, डुडुवा–५, कम्दीले चालु आर्थिक वर्षमा १२ लाख ८२ हजार २ सय ८० रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
संस्थाले आइतबार आयोजना गरेको १७औँ वार्षिक साधारण सभामा सो जानकारी सार्वजनिक गरिएको हो । साधारण सभाकै अवसरमा सहकारीको नयाँ भवनको औपचारिक रूपमा उद्घाटनसमेत गरिएको छ ।

संस्थाका प्रबन्धक भागीराम बोहराद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनअनुसार सहकारीले यस आर्थिक वर्षमा उल्लेख्य मुनाफा हासिल गर्न सफल भएको हो । २०६५ सालमा स्थापना भएको यस सहकारीमा हाल १ हजार ३ सय ९५ जना सेयर सदस्य आबद्ध रहेका छन् ।
संस्थाका अध्यक्ष खिमबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंकबहादुर थापा रहेका थिए । कार्यक्रममा वडा सदस्य काशीराम यादव, लालबहादुर पुन मगरलगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष थापाले जिल्लाका सम्पूर्ण सहकारीहरू सहकारी ऐनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीय सहकारीले सहकारी ऐनको पालना गर्दै उदाहरणीय रूपमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा बाँके जिल्लाकै नमूना सहकारीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । कार्यक्रमको सन्चालन पशुपति सामुदायिक बनका अध्यक्ष बेल बहादुर बोहराले गरेका थिए ।






