बंगलादेशको घटना सिङ्गो मानवतामाथिको प्रहार हो : अन्सारी

|

नेपालगन्ज । बंगलादेशमा हालै भएको एक युवाको हत्या घटनालाई लिएर अधिकारकर्मी साहिल अन्सारीले गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त घटनालाई सिङ्गो मानवतामाथिको प्रहारको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै अन्सारीले बंगलादेशमा घटेको हत्या घटना अत्यन्त दुःखद र चिन्ताजनक रहेको बताएका छन्। उनले कुनै पनि देश, समुदाय वा विचारधाराबीच असहमति भए पनि हिंसा र हत्या कहिल्यै समाधान हुन नसक्ने स्पष्ट पारेका छन्।
“जात–धर्मका आधारमा कसैमाथि हिंसा र हत्या गर्नु कदापि स्वीकार्य छैन,” अन्सारीले लेखेका छन्, “म यस घटनाको कडा विरोध तथा भर्त्सना गर्दछु। यस्ता घटनाले सिङ्गो मानवतामाथि प्रहार गर्दछ।”
उनले कानूनको शासन कमजोर हुँदा निर्दोष जीवनको मूल्य घट्दै जाने उल्लेख गर्दै यसले समाजलाई गम्भीर खतरातर्फ धकेल्ने चेतावनी दिएका छन्। साथै, उक्त घटनाले मानव अधिकार, न्याय र जवाफदेहिताको महत्त्व सबैलाई स्मरण गराएको बताएका छन्।
अन्सारीले दोषी जो–कोही भए पनि निष्पक्ष छानबिन गरी कानूनी प्रक्रियामार्फत कारबाही हुनुपर्नेमा जोड दिएका छन्। “भीडको आक्रोश र अमानवीय व्यवहार होइन, कानून र न्यायमार्फत मात्र यस्ता घटनाको समाधान सम्भव छ,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार शान्ति, सहिष्णुता र संवाद नै दीर्घकालीन समाधान हुन्। युवाहरूको ज्यान सुरक्षित रहोस् र समाज पुनः मानवीय मूल्यतर्फ फर्कियोस् भन्ने साझा चाहना हुनुपर्ने उनले बताए।
“मानव जीवन सबैभन्दा ठूलो मूल्य हो। शान्ति, सहअस्तित्व र सहिष्णुतामार्फत मात्र समाज सुरक्षित र न्यायपूर्ण बन्न सक्छ,” अन्सारीले आफ्नो धारणा व्यक्त गरेका छन्।

२०८२ पुष ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।