निर्धन उत्थान लघुवित्तले घरमै पुगेर मृत्यु बीमा दाबी रकम हस्तान्तरण

|

नेपालगन्ज ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड परसपुर शाखाले मृत्यु बीमा दाबी वापतको रकम सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दुःख र विपद्को घडीमा आफ्ना सदस्य तथा परिवारलाई आर्थिक राहत पुर्‍याउने उद्देश्यले बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

परसपुर, बाँके शाखा कार्यालयमार्फत जयसपुर समूहकी सदस्य स्वर्गीय सुफिया चिकवाको निधनपछि उनका श्रीमान् अब्दुल कलिम चिकवालाई मृत्यु बीमा बापत १३ लाख ६७ हजार १६० रुपैयाँ प्रदान गरिएको हो । उक्त रकम नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष कलिम अहमद अन्सारीको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष अन्सारीले बीमा दाबी वापत प्राप्त रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले दुःखको घडीमा लघुवित्त संस्थाले देखाएको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै यसले आर्थिक रूपमा कमजोर वर्गका परिवारलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि क्षेत्रीय कार्यालय, कोहलपुरका प्रमुख ध्रुबराज जोशीले निर्धन उत्थान लघुवित्तले विपद्, रोग, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता अवस्थाहरूमा सदस्य र उनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले बीमा सेवाले सदस्यहरूको जीवनमा आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउने बताउनुभयो ।

परसपुर शाखाका प्रमुख गोपाल शर्माले संस्थाले सदस्य केन्द्रित सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यस किसिमका बीमा सेवाले सदस्यहरूलाई कठिन परिस्थितिमा सुरक्षित महसुस गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सेवाग्राहीमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, लघुवित्तका कर्मचारी, पत्रकार,समूहका सदस्य तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । निर्धन उत्थान लघुवित्तले ग्रामीण तथा विपन्न वर्गको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउँदै सामाजिक सुरक्षा र समावेशी वित्तीय सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ ।

२०८२ पुष २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।