नेपालगञ्जमा मानव अधिकार रक्षकको सुरक्षाप्रति चिन्ता

|

नेपालगञ्ज / मानव अधिकार रक्षकहरूमाथि असुरक्षा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ। हरेक वर्ष डिसेम्बर ९ मा मनाइने विश्व मानव अधिकार रक्षक दिवसको सन्दर्भमा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरूको अधिकारका लागि आवाज उठाउने मानव अधिकार रक्षकहरू नै असुरक्षित बन्दै पीडित हुन थालेको जनाइएको हो।

नेपाल पत्रकार महासंघ बाँके, नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम नेपाल, इन्सेक नेपालगञ्जलगायत विभिन्न अधिकारवादी संघसंस्थाको सहभागितामा मानव अधिकार सञ्जाल नेपालगञ्जद्वारा आयोजित ‘बदलिँदो परिस्थितिमा मानव अधिकार रक्षकका चुनौती, अधिकार र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा परिरहेको अवस्था औंल्याइएको थियो।

कार्यक्रमका वक्ताहरूले मानव अधिकार रक्षकहरूले आफ्नो भूमिका निर्वाह गर्दा निष्पक्षता र तटस्थता कायम राख्दै कर्तव्य पालन गर्नुपर्ने आवश्यकता रहेको बताए। साथै, राज्यले मानव अधिकार रक्षक ऐन निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइयो।

नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्रबहादुर शाहीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल बारका पूर्व उपाध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अधिकारकर्मी निर्मला सुनार, द्वन्द्वपीडित महिला चन्द्रकला उप्रेती, अपांगता भएका व्यक्तिहरूको तर्फबाट विनोद थापा तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट परिना चौधरीलगायतले धारणा राखेका थिए।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण अधिवक्ता बसन्त गौतमले गरेका थिए। अन्तरक्रिया कार्यक्रमअघि सहभागीहरूले बिपी चोकमा प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए।

२०८२ मंसिर २४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।