डुडुवा। बाँकेको डुडुवा गाउँपालिका–५ स्थित हजरत बाबा कम्मर शाह दरगाह सारिफमा आयोजना हुने ‘उर्ष मेला’ यस वर्ष थप संगठित, सुरक्षित र समावेशी बनाउने उद्देश्यका साथ तयारी तीव्र गरिएको छ।सामुदायिक समन्वय, धार्मिक सद्भाव र स्थानीय सहभागितालाई प्राथमिकता दिँदै विभिन्न विषयगत समितिहरू गठन गरिएको हो।
स्थानीय नेतृत्वको उपस्थितिमा बसेको भेलाले २१ सदस्यीय मेला सञ्चालन समिति गठन गर्दै मेलालाई व्यवस्थित ढंगले सञ्चालन गर्ने निर्णय गरेको छ। समितिको अध्यक्ष वडा नं.४ का वडा अध्यक्ष सगिर खाँ रहनुहुन्छ भने उपाध्यक्षमा ईसराईल खाँ, सचिव राजेश कुमार बर्मा लगायत सदस्यहरू चयन भएका छन्।
धार्मिक मेलालाई सांस्कृतिक उत्सवजस्तै विस्तार
यस वर्ष उर्ष मेलालाई केवल धार्मिक कार्यक्रम मात्र नभई सांस्कृतिक तथा स्थानीय पहिचानको उत्सवका रूपमा परिवर्तित गर्ने तयारी भएको छ।यही उद्देश्यले वडा नं.५ का अध्यक्ष झंक बहादुर थापाको संयोजनमा सांस्कृतिक समिति गठन गरिएको छ, जसले स्थानिय सांस्कृतिक प्रस्तुति, विविध कार्यक्रम तथा कलाकारहरूको समन्वय गर्नेछ।
आर्थिक, सरसफाइ र बजार व्यवस्थापनमा छुट्टै संरचना
मेला सञ्चालनलाई व्यवस्थित बनाउन वित्तीय पारदर्शिताका लागि गंगा प्रसाद यादवको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ।त्यस्तै भीड व्यवस्थापन, वातावरणीय स्वच्छता र मेलास्थलको सरसफाइ सुनिश्चित गर्न फकिर मो. साहको संयोजनमा सरसफाइ समिति गठन गरिएको छ।
स्थानीय व्यापारी, उपभोक्ता र आगन्तुकलाई सहज बनाउन जलील अहमद अन्सारीको नेतृत्वमा बनेको बजार व्यवस्थापन समितिले बजार अनुशासन, दर निर्धारण र सुरक्षा व्यवस्थालाई सम्हाल्नेछ।
मंसिर २३ देखि २६ सम्म चारदिने मेला
सद्भाव, भक्ति र सांस्कृतिक विविधताको प्रतीक मानिने उर्ष मेला यस वर्ष मंसिर २३, २४, २५ र २६ गतेसम्म चार दिनसम्म सञ्चालन हुनेछ।समितिहरू सक्रिय रूपमा तयारीमा जुटेपछि स्थानीय बासिन्दा र श्रद्धालुहरूमा मेलाप्रति उत्साह बढेको छ।






