नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।
कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरुबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको छ ।” आगामी दिनमा यस क्षेत्रको पर्यटक विकासमा थप कार्यक्रमहरु ल्याउने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरीएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताए ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगन्ज हिजोका दिनमा ट्रान्जिट मात्र भएकोले अब गन्तव्यको रुपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले बाँकेका मिडियाकर्मीहरुलाई पर्यटन र फोटो पत्रकारितासम्बन्धी अभिमुखिकरण कार्यकम गरिएको छ ।” यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्दधन गर्न टेवा पुग्ने उहाँको विश्वास छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारहरुको लागि अनुशिक्षण, अभिमुखिकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिल चुडामणी बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे अभिमुखिकरण गराउनुभएको थियो । कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।






