राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीको रिम्ना सामुदायिक बन क्षेत्रमा एक पुरुषको जंगली जनावरको आक्रमणमा परि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका खत्री शुक्रबार दिउँसोबाट बेपत्ता भएका थिए । उनी साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे तीन टुक्रा भएको अवस्थामा शव भेटिएको थियो ।
प्रहरी नायव उपरिक्षक पातलीले खत्रीको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै सो बारेमा अनुसन्धान भइरहेको बताए ।
सो घटनाका बारेमा बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिरेन्द्रबहादुर कडेलले घटनाको प्रकृति हेर्दा खत्री माथि चितुवाको आक्रमण भएको जस्तो देखिएको बताऐ ।
उनले कुन जनावरले आक्रमण गरेको हो यकिन गर्नको लागि घटनास्थलमा क्यामेरा जडान गर्न लागिएको बताए । उनले भने–‘ घटनास्थल हेदा चितुवाले आक्रमण गरेको जस्तो देखिएकोले जुन जनावर भएपनि क्यामेराले यकिन गर्ने र त्यसलाई डाटको प्रयोग गरेर घटनामा संलग्न जनावरलाई नियन्त्रणमा लिने तयारी भई रहेको छ ।’
प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको निकुञ्ज प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									




