सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

|

काठमाडौँ । सरकारले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले जानकारी दिएको थियो कि।

सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । यस अवधिमा मन्त्रालयमा पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । त्यसबाहेकका अरू सबै सामाजिक सञ्जाल बन्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।

तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो ।
सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि उसले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।

२०८२ भाद्र १९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।