सहयात्री नेपालद्वारा क्यान्सर पीडित महिला र नीलसागर सेवा आश्रमलाई सहयोग

|

नेपालगञ्ज । बाल क्लबका पूर्व सदस्यहरुले स्थापना गरेको सहयात्री नेपाल ले क्यान्सर पीडित महिला र नीलसागर सेवा आश्रमलाई नगद सहयोग प्रदान गरेको छ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत सहयात्री नेपालले दाङ राप्ती गाउँपालिका–४ मौरीघाटकी ३८ वर्षीय पाठेघर क्यान्सर पीडित पार्वता मल्ललाई उपचारका लागि नगद सहयोग र नेपालगञ्जस्थित नीलसागर सेवा आश्रमलाई भवन निर्माणार्थ रकम हस्तान्तरण गरेको हो।

‘एक चिया, एक जीवन, एक परिवर्तन’ नारासहित गत साउन ९ गते राष्ट्रसेवक स्वर्गीय बिन्दु कुँवरको स्मृतिमा आयोजित ‘सहयोगका लागि चियापान’ अभियानबाट उक्त रकम संकलन गरिएको थियो। चियापान कार्यक्रममा करिब दुई सय दाताहरुले सहभागिता जनाएका थिए।

अभियानबाट क्यूआरमार्फत र ‘दान बाकस’मा संकलित रकम गरी कुल रु ६० हजार ७ सय १ संकलन भएकोमा, रु ५० हजार ५१ नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि र बाँकी रु १० हजार ६ सय ५० मल्लको उपचारका लागि प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सहयात्री नेपालका सचिव अञ्जना चर्तुवेदी, सदस्य श्वेता गुरुङ र दीपा सुनारले संयुक्त रूपमा रकम हस्तान्तरण गरे। कार्यक्रमको अध्यक्षता सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीले गरेका थिए।

 

२०८२ श्रावण ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।