बास/ब्राईटल्याण्ड युवा पुरस्कार खगेन्द्र दाहाललाई

|

नेपालगन्ज । बास/ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ युवा सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको छ । अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष दाहालले प्राप्त गर्न सफल भएका हुन् । दाहाललाई सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरिएको छ । जिल्ला समन्वय समिति बाँके उपप्रमुख सिता कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिना लगायतले दाहाललाई सो पुरस्कार प्रदान गरेका थिए ।

युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास÷ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ को घोषणा गरेका थिए ।
पुरस्कार प्रदान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, बाँकेकी उपप्रमुख सिता कार्कीले व्यक्तिलाई उसको ईच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताईन् ।
पुरस्कार ग्रहण गर्दै दाहालले पुरस्कारबाट थप जिम्मेवार बनेको बताए ।
को हुन् दाहाल ?
बुवा रामचन्द्र, आमा देव कुमारी दाहालको कोखबाट २०४५ भाद्र १ गते जन्मिएका दाहाल खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी हुन् । २०६४ देखि पत्रकारितामा सक्रिय उनी समाजसेवामा सक्रिय भएको एक दशक बढी भयो । अपाङ्गता, असहाय, जेष्ठ नागरिक, प्रकोपमा परेका र उपचार पाउनबाट वञ्चित भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष, आदर्श युवा समाज खजुराका उपाध्यक्ष दाहालले २०८१ खजुरा ६ सिमलघारी निवासी दृष्टिबिहिन जय बहादुर बिक र खजुरा ४ थपलट निवासी भिम बहादुर खत्रीको घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । दुबै जनाका घर भत्केर घरबार बिहिन भएका बेला दाहालले सहयोग अभियान सञ्चालन गरि दुई महिना भित्र घर निर्माण गरि चापी हस्तान्तरण गरेका थिए ।
दाहालले एक दर्जन बढि अपाँगता भएका व्यक्तिहरुलाई सहायक सामाग्रि, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको उद्धार, मृगौला, क्यान्सर रोगबाट पीडित र आगलागी पीडितहरुलाई उपचार, पुर्नस्र्थापनमा सहयोग गर्दै आएका छन् । उनले २० लाख बढि रकम सहयोग जुटाएर सहयोग गरिसकेका छन् ।

२०११ मा असल कार्य गर्ने युवाहरुलाई उत्प्रेरणा गर्ने उद्धेश्यले बास युवा पुरस्कार स्थापना गरि प्रदान गर्न शुरु गरिएको २०१२ मा ब्राईटल्याण्ड स्कुलसँग साझेदारी भई पुरस्कारको नाम बास, ब्राईटल्याण्ड युवा पुरस्कारको रुपमा प्रदान गर्न थालिएको थियो । ट्रफि, प्रिन्ट प्रमाणपत्र, डिजिटल प्रमाण पत्र हुँदै हाल ताम्रपत्र सहित नगद रु. ५ हजारबाट शुरु गरिएको पुरस्कार ८ हजार, १० हजार, १२ हजार हुँदै हाल १५ हजार प्रदान गरिँदै आएको छ ।

हाल सम्म २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त केसी, २०१४ मा शिक्षा क्षेत्रमा क्रियाशिल किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा सबनम परबिन, २०१७ मा बातावरण तथा सरसफाई अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निलसागर सेवाश्रम, नेपालगञ्ज, बाँकेकी अध्यक्ष सरिता खनाल, २०२३ मा सामाजिक अभियन्ता बिनोद थापा र २०२४ मा ब्लड डोनर्स ग्रुपका प्रमुख सुनिल परियारलाई पुरस्कार प्रदान गरिएको थियो ।

२०८२ श्रावण २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।